भेप सुन तस्करी प्रकरणमा महरा सहित चार जनाविरुद्ध मुद्दा दायर

संगठित अपराध र भन्सार चोरी निकासी गरेको अभियोग

विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धानअनुसार पुरक अभियोजनमार्फत् अदालतमा आज मुद्दा दर्ता गरिएको हो । भेपमार्फत् भएको ९ किलो सुन तस्करीको पुरक अभियोजनमा सरकारी वकिल कार्यालय काठमाडौंले ४ जनालाई प्रतिवादी बनाएको छ । नेपालको समेत नागरिकता भएका भनिएका चिनियाँ मुलका बेल्जियमका नागरिक दावा छिरिङलाई मुख्य अभियुक्त बनाइएको छ । उनी ६० किलो सुन तस्करी प्रकरणको पनि मुख्य अभियुक्त हुन । यस्तै, दावाका सवारी चालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलाई मतियारका रुपमा अभियुक्त बनाइएको छ । अभियोग पत्रका उल्लेख गरिएको कसुरअनुसार मुख्य अभियुक्त दावाविरुद्ध सबै गरेर १० वर्ष ६ महिना कैद सजाय मागदाबी भएको छ । यस्तै, अन्य ३ जना अभियुक्त महरा, पौडेल र  गुरुङविरुद्ध अधिकतम् ७ वर्ष ६ महिना कैद सजाय मागदाबी गरिएको छ । राहुल महरा पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन । दावाले भन्सार ऐन बमोजिमको कसुर गरेको अभियोगपत्रमा दाबी गरिएको छ । जसअनुसार ९ किलो सुनको बिगो ५ करोड रुपैयाँभन्दा बढी भएकाले ५ वर्षसम्म कैद हुनुपर्ने मागदाबी सरकारी वकिलको कार्यालयले गरेको छ । राहुलसहित ३ जनाको हकमा भने सोही कसुर गर्न सहयोग गरेको उल्लेख गर्दै मुद्दा दर्ता गरिएको हो ।  भन्सार ऐनमा कसुर गर्न मद्दत गर्ने वा दुरुत्साहन दिने व्यक्तिलाई भन्सार तथा अदालतले कसुरदारलाई सरह सजायको व्यवस्था गरेको छ । चारै जना प्रतिवादीलाई संगठित अपराध बमोजिमको थप सजाय पनि मागदाबी गरिएको छ । यसमा मुख्य मुद्दा अर्थात् मुख्य अभियुक्त र मतियारको रुपमा उनीहरुलाई जति सजाय हुन्छ त्यसको आधा सजाय हुनसक्ने व्यवस्था छ । दावाको हकमा भने मुलुकी फौजदारी अपराध संहिताको कसुर पनि आकर्षित गरिएको छ । २०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिकको योजनामा भेपमा लुकाएर ९ किलो ५ सय २४ ग्राम सुन ल्याएको भेटिएको थियो ।। 

प्रतिक्रिया