गाजाको सीमावर्ती क्षेत्रमा रहेका सबै नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरियो

इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका सबै ५५ नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।इजरायलको उत्तरी सिमाना आसपासको क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेका ७२ जनालाई पनि सुरक्षित ठाउँमा सारिएको तेलअबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।
उक्त दूतावासका अनुसार शनिबारको आक्रमणमा घाइते भएका चारै जनाको स्वास्थ्यमा क्रमशः सुधार आएको छ तथा हराइरहेका एक नेपालीको प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा व्यापक खोजी भइरहेको छ । नेपाल फर्कन चाहने तीन सय ५० जनाभन्दा बढी नेपालीले आफ्नो नाम दूतावासमा दर्ता गराएका छन् । उनीहरूको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया प्रारम्भ गरिसकेको छ । यसैविच सरकारले इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित जानकारी गराउने भएको हो । हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था, उद्धारको प्रक्रिया, शव नेपालमा ल्याउन चालिएको कदमसहितका विषयमा जानकारी गराउन परराष्ट्र मन्त्रालयले आजदेखि नियमित पत्रकार सम्मेलन गर्न लागेको हो । पत्रकार सम्मेलन अपराह्न साढे ४ बजे हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३२४ जनाले अनलाइन रजिस्ट्रेसनमार्फत विवरण उपलब्ध गराएका छन् । उनीहरूमध्ये २८८ जनाले नेपाल फर्किन चाहेको बताएका छन् । बाँकी ३६ जनाले सुरक्षित स्थानमा स्थानान्तरण हुन चाहेका छन् । असोज २० गते हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको निधन भएको थियो । एकजना अझै सम्पर्कविहीन छन् । 
 

प्रतिक्रिया