तत्कालका लागि इजरायल भ्रमण नगर्न सरकारको आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् । इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा आज संसदीय समितिलाई जानकारी गराउँदै उनले इजरायल भ्रमणमा नजान आग्रह गरेका हुन् । मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।मन्त्री साउदले द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन भइरहेको बताए । २ सय  भन्दा बढी नागरिकको विवरण संकलन भइसकेको उनले जानकारी दिएका हुन । बैठकमा समिति सदस्यहरुले इजरायलमा नेपालीको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै थप कार्य गर्न सुझाब दिएका छन । इजरायलमा शनिबार बिहान प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुको शव सरकारले नेपाल ल्याउन कुटनीतिक पहल गरिरहेको छ । साथै स्वदेश फर्कन चाहाने नेपालीहरुलाई समेत उद्धार गर्नका लागि प्रयास भैरहेको छ । 
 

प्रतिक्रिया