कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय

कोशी प्रदेशमा गठबन्धन दलकै सरकार बनाउने निष्कर्षमा नेपाली कांग्रेस पुगेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा सहितका पदाधिकारीहरुको बैठकले कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा गठबन्धन सरकारलाई नै निरन्तरता दिने गरी छलफल अघि बढाउने निर्णय गरेको हो । बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको नेताहरुले बताए । गठबन्धन दलहरुमा अलि तिक्तता जस्तो देखिएकाले छलफल गरेर निस्कर्षमा पुग्नुपर्ने कांग्रेस पदाधिकारी बैठकको निस्कर्ष छ । कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा यसअघि दुई पटक मुख्यमन्त्री नियुक्त भएपनि विश्वासको मत पाउन सकेका थिएनन । बैठकले सभापति देउवालाई त्यसबारे लचिलो भएर वार्ता र संवादका लागि जिम्मेवारी दिएको छ । बैठकले इजरायलमा भएको आक्रमण र नेपालीहरूको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । कोशीमा सरकार गठनका विषयमा आज विहान प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राप्रपा अध्यक्ष राजेन्द्र लिंङदेनसँग छलफल गरेका छन । गठबन्धन दलको बैठक बसेर प्रदेश प्रमुखले दिएको समयभित्रै सरकारमा दाबी गर्ने गठबन्धन दलको तयारी छ ।। ्रदेशसभाको पहिलो दलको हिसावले मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १ सय ६८ उपधारा पाँच बमोजिम मुख्यमन्त्रीकालागि दाबी पेश गर्न आव्हान गरेका छन् । त्यसकालागि आगामी शुक्रबार साँझसम्मको समय दिइएको छ । कोशी प्रदेशसभा हाल ९३ सदस्यीय छ । त्यसमध्ये बहुमतकालागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । जसमा कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सांसद छन् ।। 

प्रतिक्रिया