चोभार सुक्खा बन्दरगाहमा इलेक्ट्रिक सवारीसाधन आउन सुरु

चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि इलेक्ट्रिक सवारीसाधन आउन सुरु भएको छ । चोभार सुक्खा बन्दरगाहमा सुरु अवस्थामा कन्टेनराइज्ड कार्गो मात्र आउने गरेकामा गत असारबाट चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनसमेत आउन सुरु गरेको हो । हालसम्म साङ्ग्रिला मोटर्स प्रालि, जिरुओ अटोमोबाइल्स प्रालिलगायत अन्य कम्पनीका पेट्रोलबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयमा भन्सार जाँच पासका लागि आइसकेका इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।  आयातकर्ताले गत शनिबारदेखि इलेक्ट्रिक गाडीसमेत भन्सार जाँच पासका लागि चोभार ल्याउन सुरु गरेका छन् । नेपाल मोटर्स प्राइभेट लिमिटेडले चार वटा इलेक्ट्रिक कार कन्टेनरमा राखी चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो । ति गाडीहरू भन्सार जाँच पासका लागि वीरगन्ज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो । चोभार भन्सार कार्यालयबाट भन्सार जाँच पास प्रक्रिया व्यवस्थित भएपछि सवारीसाधन चोभार आउन थालेका हुन् । आगामी दिनमा अझै थप सवारी चोभार आउने जानकारी आयातकर्ताले गराएका छन् । चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँच पासका लागि आउने मालवाहक सवारीसाधन एवं नयाँ सवारीसाधनका लागि प्रवेश निःशुल्क गर्नुका साथै पार्किङ एवं गोदाम शुल्कसमेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया