नेपाल–भारत सम्बन्धको लाभ ‘आइटी’ क्षेत्रमार्फत लिनुपर्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल र भारतबीचको प्रगाढ सम्बन्धको भरपुर लाभ आइटी क्षेत्रमार्फत लिनुपर्ने बताएका छन् । 

भारतीय दूतावासले आज आयोजना गरेको ‘सेकेण्ड इण्डिया–नेपाल स्टार्टअप कनेक्ट कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले अहिले सूचना प्रविधिको युग भएकाले दुई देशबीचको सम्बन्ध जोड्ने आधार सूचना प्रविधि रहेको बताए ।

उनका अनुसार नेपाल र भारतबीचको सांस्कृतिक, भावनात्मक र खुला सिमानाको अन्तर सम्बन्धलाई अब नवीन कार्यमा रुपान्तरण आवश्यक छ । आइटी क्षेत्रमार्फत दुई देशबीचका युवाबीच ‘इनोभेटिभ’ कार्यमा सहकार्यको आवश्यकता उनले औँल्याए । 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपालले आइटी क्षेत्रमा पूर्वाधार निर्माण, बजार विस्तार र ‘डिजिटल फ्रेमवर्क’मा कार्य सम्पादन गर्दै आएको उल्लेख गरे । 

उनले नेपालको आफ्नै स्याटेलाइट निर्माण गर्ने, ‘डिजिटल लिटरेसी’ विस्तार गर्ने, एआइ नीति ल्याउने सरकारको योजना रहेको जानकारी दिए ।

प्रतिक्रिया