इजरालयमा सबै नेपालीलाई सुरक्षित ठाउँमा सारेको सरकारको दाबी

मृतकको शव ल्याउन समन्वय जारी

इजरायलको जोखिमयुक्त क्षेत्रबाट लगभग सबै नेपालीलाई सुरक्षित ठाउँमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । द्वन्द्व प्रभावित क्षेत्रबाट सम्पर्कमा आएका सबै नेपालीको उद्धार गरी सुरक्षित ठाउँमा सारिएको इजरायलको तेल अबिबमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । तेल अबिबस्थित नेपाली राजदूतावासले कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको बताएको छ । दुतावासले  एक विज्ञप्ति जारी गर्दे यस्तो जानकारी दिएको हो । युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली सङ्घसंस्थाको सहयोगमा दूतावासले उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको दूताबासले जनाएको छ । इजरायलको उत्तरी सीमावर्ती क्षेत्र जरित मोशवमा रहेका ७३ नेपाली विद्यार्थीलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको हो ।  हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको पनि बताएको छ । घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुईजनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।नेपाल फर्कन इच्छुकहरुको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसन सुरु भई दुई सयभन्दा बढीको विवरण प्राप्त भइसकेको छ । राजदूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवं सतर्क भई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।उत्तरी इजरायलमा रहेका नेपालीहरू पनि जोखिममा परेका छन् । हमासको आक्रमणपछि दक्षिणी इजरायलमा रहेका नेपाली विद्यार्थीहरू जोखिममा परेका थिए । १० जना विद्यार्थी मारिएका थिए।
 

प्रतिक्रिया