हमास इजरायल युद्धको विरोध र समर्थनमा विश्वका प्रमुख शहरमा प्रदर्शन

बन्धनको हत्या गर्ने हमासको धम्की

इजरायलको सेनाले गाजा सीमानजिक रहेका सम्पूर्ण सहरलाई कब्जा गरेको दाबी गरेको छ । दक्षिणी इजरायलबाट प्यालेस्टाइनको विद्रोही समूह हमासलाई लखेट्न युद्ध चलिरहेको र गाजापट्टी छेउछाउमा पकड कायम गरेको सेनाको दाबी छ । इजरायल र गाजाबीचको पर्खाललाई ट्याङ्क र विमानले सुरक्षित बनाउने प्रयास भइरहेको इजरायलको सेनाले जनाएको हो । शनिवार हमासले आक्रमण शुरु गर्दा गाजापट्टीमा पर्खाल भत्काएका थिए । इजरायलका रक्षामन्त्रीले गाँजा क्षेत्रलाई सम्पूर्ण रुपमा नियन्त्रण लिन आफ्ना सेनालाई निर्देशन दिएका छन । गाँजा क्षेत्रबाट विद्रोही हमास समूहले शुरु गरेको आक्रमणको प्रतिकारमा लगातार रकेट हमला गरिरहेको इजरायलले गाजा क्षेत्रमा आपूर्ती भइरहेको खानेकुरा, पानी, इन्धन र विदयुत लगायत सबै सेवा बन्द गर्न पनि आदेश दिएको छ । हमास समूह विरुद्ध ‘ठूलो शक्ति’ प्रयोग गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएका छन । इजरायलका प्रधानमन्त्री नेतन्याहुले हमासलाई कडा चेतावनी दिँदै हमासले सुरु गरेको युद्ध इजरायलले अन्त्य गर्ने बताएका छन । नेतन्याहुले निर्दोष इजरायलीहरू विरुद्ध हमासले गरेको क्रूर आक्रमणहरू स्तब्ध पार्ने बताए । सम्बोधनमा उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य विश्व नेताहरुलाई सहयोगको लागि धन्यवाद पनि दिएका छन । हमासले युद्ध सुरु गरेपछि इजरायलले ३ लाख सैनिक परिचालन गरेर बदला लिने भएको छ ।  प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले प्यालेस्टाइनीहरूविरुद्ध इजरायलको आक्रमण तत्काल रोक्न संयुक्त राष्ट्र संघलाई आह्वान गरेका छन । अब्बासले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग टेलिफोन गरी थप आक्रमण रोक्ने पहल गर्न अनुरोध गरेका हुन । गाजा र वेस्ट बैंकमा युद्धका कारण ७ सय ४ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय १६ जना घाइते भएका छन ।  इजरायलमा ९ सय जनाको मृत्यु भएको छ भने ३ हजार ८ सय जना घाइते भएका छन् । दुवैतर्फ गरी जारी युद्धमा १ हजार २ सय जनाभन्दा धेरैको मृत्यु भएको छ ।।

हमासको धम्की 

प्यालेस्टाइनको लडाकु समूह हमासले आफूले बन्धक बनाएका इजरायलका नागरिक मारिदिने धम्की दिएको छ । इजरायलले हमाससँग चलिरहेको युद्धमा ‘ठुलो शक्ति’ प्रयोग गरी पराजित गर्ने बताएसँगै हमासले पनि बन्धक बनाएका इजरायली मार्ने धम्की दिएको हो । गाजामा इजरायलको लगातार हमलालाई लिएर हमासको सैन्य शाखाका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई मार्ने बताएका हुन । हमासले सार्वजनिक गरेको अडियोमा कसम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले गाजाका नागरिक क्षेत्रमा इजरायली आक्रमण तीव्र भएको बताएका छन । यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रमा भएको भीषण हमलाबारे यसलाई सुरुवात मात्र भनेका थिए । यसैबीच, कतारले इजरायली बन्धकहरूलाई रिहा गर्न हमाससँग वार्ता गरिरहेको जनाएको छ ।। 

युद्धको समर्थन 

इजरायल प्यालेस्टाइन युद्धको विरोध र समर्थनमा विश्वका प्रमुख शहरमा प्रदर्शन भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस, लण्डनको संसद भवन, पेरिसको आइफेल टावर, सिड्नीको ओपेरा हाउस लगायतमा इजरायलको झण्डको रंगको प्रकास प्रयोग गरेर इजरायलप्रति समर्थन जनाइएको छ । युद्धमा धेरै पश्चिमा देशले इजरायललाई साथ दिएका छन् । अमेरिका,बेलायत, फ्रान्स,अष्ट्रेलिया लगायतका कयौँ देशले इजरायललाई साथ दिएका छन् । त्यही समयमा प्यालेस्टाइनको समर्थनमा पश्चिमा देशमै प्रदर्शन भएको छ । न्युयोर्क र लण्डनमा हजारौँ मानिसहरुले प्यालेस्टाइनको झण्डा हातमा लिएर प्रदर्शन गरेका हुन् । प्यालेस्टिनीहरूको समर्थनमा लन्डन र न्यूयोर्कमा पनि प्रदर्शन भएको छ । प्यालेस्टाइनको हमास समूह र इजरायलबीचको भीषण युद्ध चौथो दिन पनि जारी छ । युद्धमा अहिलेसम्म १ हजार ६ सय जनाको मृत्यु भएको पुष्टि भएको छ । मर्नेहरुको संख्या निकै धेरै हुन सक्ने अनुमान छ । हमासको आक्रमणविरुद्ध इजरायले गाजा क्षेत्र ध्वस्त बनाएको छ । गाजा क्षेत्रका ठूला संरचना सबै ध्वस्त भएका छन्,एउटा सहर पूरै भग्नावशेषमा परिणत भएको छ ।

 

प्रतिक्रिया