नेपालीको उद्धारका लागि जहाज तयारी अवस्थामा राख्ने सरकारको निर्णय
सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्नेसमेत निर्णय गरेको छ । नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा उक्त संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण कामहरू गर्नेछ ।यसैविच प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपालीहरूको उद्दार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन् । अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ । मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ । इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकीन गर्न र उनीहरूको उद्दार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखसँग छलफल गरेका थिए ।।
प्रतिक्रिया