प्रहरीको दसैँ र तिहार लक्षित एकीकृत सुरक्षा योजना तयार

नेपाल प्रहरीले दसैँ र तिहारलाई लक्षित गरेर एकीकृत सुरक्षा योजना तयार पारेको छ । यसबीचमा हुनसक्ने चोरी तथा दुर्घटनाका न्यूनीकरण गर्न प्रहरीले एकीकृत सुरक्षा योजना तयार पारेको हो । एकीकृत सुरक्षा योजनाअन्तर्गत ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने भएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १२ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन । उपत्यकामा १४, कोशी प्रदेशमा ४५, मधेस प्रदेशमा ३७, बागमतीमा ४५, गण्डकीमा २१, लुम्बिनीमा ५०, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ३५ वटा नागरिक सहायता कक्ष सञ्चालन हुनेछन् । प्रहरीले ३ सय ५७ वटा सिभिल चेकपोस्ट, ५० क्षेत्रमा सीमा सुरक्षा चेकपोस्ट, ग्रामीण क्षेत्रमा १५ सुरक्षा चेकपोस्ट खडा गर्ने भएको छ । सुख्खा पहिरो खस्ने पृथ्वी राजमार्ग खण्डको मुग्लिङ–नारायणगढ खण्डमा २४ सै घण्टा सुरक्षाकर्मीसहित सडक विभागसँग समन्वय गरी आवश्यकताअनुसार एक्स्काभेटर, डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिएको प्रहरीको भनाइ छ । राजधानीबाट टिकट लिने यात्रुका लागि प्रहरीले विभिन्न स्थानमा करिब दुई दर्जन प्रहरी सहायता कक्ष स्थापना गरी त्यहाँबाट सेवा दिन सुरु गरेको छ । प्रहरीले टिकटमा कालो बजारी गर्ने, दोस्रो व्यक्तिले टिकट बिक्री गरेर यात्रु ठग्नेलगायतका कामलाई निरुत्साहित गर्न बसपार्क र अन्य स्थानमा विशेष गस्ती सुरु गरेको जनाएको छ । कालोबजारी नियन्त्रण, बजार अनुगमन, हाते पर्चासहित प्रचारप्रसारलगायतका कार्य अघि बढाउन सबै प्रहरी निकायलाई आग्रह गरिसकेको प्रहरीको भनाइ छ । हाल प्रहरीले बैंक, वित्तीय संस्था, गहना पसल, सपिङ मललगायत भिडभाड हुने स्थानमा गस्ती बढाएको छ । ती स्थानमा व्यापक मात्रामा सादा पोशाकका प्रहरी परिचालन भएका छन् ।। 

प्रतिक्रिया