इजरायल आक्रमणमा दश जना नेपालीको मृत्यु, चार घाइते, एक बेपत्ता

नेपालबाट इजरायल सरकारको सहयोगमा ‘लर्न एन्ड अर्न’ कायक्रममा गएका १० जना विद्यार्थीको मृत्यु भएको छ । साथै एक जना सम्पर्कविहीन छन् भने चार जना अस्पतालमा उपचारत छन् ।  नेपालका तीन विश्वविद्यालयबाट अध्ययनका लागि २ सय ६५ जना इजरायलमा गएका थिए । तीमध्ये कृषि विश्वविद्यालयबाट १ सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना थिए ।  सुदूरपश्चिम विश्वविद्यालयका उक्त समूहमा अध्ययनरत १७ जनामध्ये १२ जना सम्पर्कविहीन, तीन जना उपचाररत र दुई जना सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अरू चार जना अस्पतालमा उपचारत भए पनि खतरामुक्त छन । इजरायलबाट प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा कैलालीका घोडाघोडी नगरपालिकाका नारायणप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी नगरपालिकाका गणेशकुमार नेपाली, कैलाली बौनियाका आशिष चौधरी, दार्चुला लेकामका दिपेशराज विष्ट, धनुषा सपहीका आनन्द साह, सुनसरी मधुवनका राजेशकुमार स्वर्णकार, डोटी पचनालीका राजन फुलारा, डोटी लामिखालका पदम थापा, सल्यान सारदा नगरपालिकका प्रवेश भण्डारी, दार्चुला मालिकार्जुनका लोकेन्द्रसिंह धामी छन् । कञ्चनपुर भीमदत्त नगरपालिकाका विपिन जोशी सम्पर्कविहीन भएका छन । सल्यान नगरपालिकाका विधान सेजुवाल, दाङ दङ्गीशरणका प्रवीण डाँगी, कैलाली टीकापुरका मनबहादुर चौधरी र गोरखा नगरपालिकाका हिमाञ्चल कट्टेलको उपचार भइरहेको छ । इजरायलमा हाल ४ हजार ५०० नेपाली केयर गिभरको रूपमा कार्यरत रहेका छन् । इजरायमा हाल अध्ययन गरिरहेका २ सय ६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका थिए । यसमध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिविबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

प्रतिक्रिया