सत्कर्मका लागि राज्य र संस्था जोडिनुपर्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सत्कर्मका लागि राज्य सँगसँगै सङ्घसंस्था पनि आपसमा जोडिनुपर्ने बताएका छन् ।

मानवता प्रवद्र्धन अभियान सञ्चालन गर्दै आएको नेपाल मानवसेवा आश्रमको पहलमा धनगढीमा आज शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहले राज्य एक्लैको प्रयासमा मानवीय सेवाजस्ता सत्कर्म गर्न कठिन हुने भएकाले यस्ता कार्यमा सङ्घसंस्था पनि जोडिनुपर्ने बताए ।

आश्रमले मानवताका क्षेत्रमा निःस्वार्थ भएर गरिरहेको सेवाको सराहना गर्दै उनले आश्रमले लिएको लक्ष्य पूर्णताका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रमले धनगढी उपमहानगरपालिका–१५ उर्मी गाउँमा मानवीय मन्दिर (भवन) बनाउने लक्ष्यले महायज्ञ गरिएकाले मानवीय सेवामा सहयोग गर्न आग्रह गर्नुभयो । उर्मी गाउँको दुई बिघा जग्गामा निर्माण गर्न लागिएको मानवसेवा आश्रमको भवनका लागि रू ३७ करोडको गुरूयोजना बनेको छ ।

उक्त भवनमा आश्रमको भवनमात्र नभई मानवता अध्ययन केन्द्र र ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापना गर्ने लक्ष्य छ । भवनमा सुदूरपश्चिम प्रदेशका दुई सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवं सेवा प्रवाह गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया