इजरायलमा रहेका नेपालीलाई उद्धारका लागि सम्पर्क व्यक्ति तोकियो

इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालले सम्पर्क व्यक्ति तोकेको छ । शनिबारदेखि सुरु आक्रमणमा रोजगार र अध्ययनका लागि इजरायल पुगेका केही नेपाली समेत परेपछि परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि प्रवक्ता सेवा लम्सालसहित ६ जनाको सम्पर्क नम्बरसहित सम्पर्क व्यक्ति तोकेको हो । सम्पर्क व्यक्तिमा परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ ।यस्तै इजरायलस्थित तल अबिवमा रहेको नेपाली राजदूतावासमा रहेका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकेको छ । उनीहरू सबैको सम्पर्क नम्बरसहित दूतावासको ईमेलसमेत मन्त्रालयल खुला गरेको जनाएको छ । इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा सरकारले परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन गरेको छ । सो संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकहरुको संरक्षण र उद्दार गर्न आवश्यक पहल गरिरहेको छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको जनाएको छ । द्वन्दग्रस्त क्षेत्रबाट नेपालीहरुको यथाशिघ्र उद्दार गर्न नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको पनि दाबी गरिएको छ । इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराईएकोले आवश्यक जानकारी लिन र सम्पर्कमा रहन सरकारले अनुरोध गरेको छ ।
 

प्रतिक्रिया