राप्रपाको युवा संगठनको महाधिवेशन आगामी  चैतमा हुने

काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको महाधिवेशन आगामी चैतमा हुने भएको छ । 

सो संगठनको आज बसेको बैठकले  आगामी चैत १६, १७ र १८ गते काठमाण्डौंमा  महाधिवेशन गर्ने निर्णय गरेको हो ।

राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन गर्न बाँकी रहेका पार्टीको भातृ संगठनहरुको महाधिवेशन चैत मसान्तसम्म सम्पन्न गर्ने निर्देशनात्मक निर्णय गरेको थियो । पार्टीको निर्णय अनुसार सबै भातृ संगठनहरु महाधिवेशनको आन्तरिक तयारीमा जुटिरहेको, बैठक र छलफलहरु भइरहेको संयोजित संगठन विभागका प्रमुख, प्रवक्ता गोपाल दाहालले जानकारी दिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशन गर्न बाँकी रहेका भातृ संगठनको महाधिवेशन समयमै सम्पन्न गर्न निर्देशन दिने गरेका छन् । उनी स्वयं पनि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका संस्थापक अध्यक्ष हुन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विधानले निर्दिष्ट गरेको प्रावधान अनुरुप आफ्नो महाधिवेशन गर्न हरेक हिसाबले तयार हुँदै गएको संगठनका संयोजक अधिवक्ता सुजित केसीले बताए । अहिलेसम्म ३९ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको, केही जिल्लामा अधिवेशनको मिति टुंगो लागिसकेको र बाँकी जिल्लाको अधिवेशन पनि फागुनको तेश्रो हप्तासम्म सम्पन्न गर्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौं, केसीले भने ।

हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना र वैकल्पिक राजनीतिको पक्षधर रहेका युवालाई समेट्दै राप्रपालाई युवामय पार्टी बनाउने लक्ष्यका साथ तल्लो तहदेखि संगठनको अधिवेशन भइरहेको केसीको भनाई छ । 
 

प्रतिक्रिया