जीपी कोइरालामा डायलासिस भवन निर्माण सुरु

तनहुँ । तनहुँ जिल्लाको शुक्लागण्डकी–५ दुलेगौँडास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा प्रवाहका लागि भौतिक संरचना निर्माण सुरु गरिएको छ । 

मिर्गौलासम्बन्धी समस्या भएका बिरामीलाई आगामी चैत ७ गते जीपी स्मृति दिवसका दिनदेखि सेवा दिने उद्देश्यसहित भौतिक संरचना निर्माण सुरु गरिएको हो । 

केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले ४० लाख लागतमा डायलासिस भवन निर्माण भइरहेको जानकारी दिए । “डायलासिस गर्न आवश्यक पर्ने शय्या र केही उपकरण अस्पतालमा रहेकाले अन्य छ वटा उपकरण स्वास्थ्य सेवा विभागबाट माग गरिएको छ, उनले भने, “विपन्न नागरिक उपचार कार्यक्रम सूचिकृतका लागि प्रक्रिया अघि बढाइएको छ ।”  

डायलासिसका लागि प्रतिव्यक्ति २ हजार ५ लाग्ने शुल्कमा निःशुल्क गर्न नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा स्वास्थ्य सेवा विभागमा सूचीकृत गर्न पठाइएको निर्देशक डा श्रेष्ठले बताए । 

डायलासिस सेवाका लागि संरचना निर्माणमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग रहेको केन्द्रले जनाएको छ । सेवा सञ्चालन गर्न तीन नर्सलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखिएको अस्पतालका प्रशासन शाखा प्रमुख प्रदीप पौडेलले बताए । स्वास्थ्य बिमाबाट पनि उपचार सेवाप्राप्त गर्नसक्ने भएपछि बिरामीको घुइँचो बढेको भन्दै उनले दैनिक तीन सयबढी बिरामीले सेवा लिइरहेका जानकारी दिए । रासस

    

प्रतिक्रिया