सकिएन रविको थुनछेक बहस, पठाइयो हिरासतमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको थुनछेक बहस आज सकिएन् । थुनछेक बहस नसकिएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । आजबाट शुरु भएको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।

सहकारी ठगी प्रकरणमा लामिछानेसहित ३२ जनाविरुद्ध मङ्गलवार जिल्ला अदालत चितवनमा दायर भएको मुद्दामा बयान सकिएर आजदेखि छुनछेक बहस शुरु भएको हो ।

बुधवार (आज) जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरे । सरकारी वकिलका तर्फबाट ३ जना र जाहेरवालाको तर्फबाट १ जना वकिलले बहस गरेका हुन् ।

बिहीबार (भोली) उनको फेरि बहस शुरु हुनेछ । सरकारी वकिल ३ जना थपिने र लामिछानेको तर्फबाट १० जनाले बहस गर्ने बताइएको छ । उनीमाथिको बयान सकिएपछि थुनछेक बहस हुनेछ  । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।

लामिछानेविरुद्ध मंगलबार चितवनमा साहारा सहकारीको बचत रकम ठगीसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो ।

साहारा चितवन बहुउद्येश्यीय सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उनीमाथिको अभियोग पत्रमा उल्लेख छ ।

प्रतिक्रिया