बडादसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला, पुरानै दरमा टिकट बिक्री
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । दसैँ सुरु हुन एक साता बाँकी हुँदा अग्रिम टिकट बुकिङ खुल्ला भएको हो । यसवर्ष दसैँको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन् । कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाटै कडा अनुगमन थालिने जनाएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा व्यवसायी आजबाट दसैँका लागि टिकट बुकिङ खुलाउन सहमत भएका थिए । काठमाडौं उपत्यकाबाट दसैँको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ । यात्रुलाई सहजताका लागि प्रहरीसँग समन्वय गरी केन्द्रहरु स्थापना गरिने विभागले जनाएको छ । विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो । दसैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन् । अघिल्ला वर्ष समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरेको थियो । यातायात व्यवसायीले भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको भनेर ढिलाइ गरेका हुन ।
प्रतिक्रिया