अधिराजकुमारी सोफीयाद्वारा भक्तपुर अस्पतालको प्रसूति सेवाबारे चासो

भक्तपुर । नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले आज भक्तपुर अस्पतालको अवलोकन गरेकी छिन् । उनले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड) को अवलोकन गरेकी हुन् । 

अवलोकनका क्रममा अधिराजकुमारी सोफीयाले प्रसूति सेवाबारे विस्तुत रूपमा जानकारी लिएकी थिइन । उनले अस्पतालको प्रसूति कक्षमा रहेका सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था र उपचार विधिका बारेमा जानकारी दिइन ।  

प्रसूति कक्षमा भर्ना भएका नवजात शिशुलाई बोकेर उहाँले अस्पतालले दिएको सेवा प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गरिन । यौन दुव्र्यवहार र हिंसामा परेका महिलाका बारेमा चासो लिँदै उनले हिंसा पीडित महिलाको व्यवस्थापन, पारिवारिक मिलन, सामाजिक पुनःस्थापनालगायत पक्षका बारेमा छलफल गरेको थियो ।

प्रसूति सेवामा भएको विकास र अस्पतालले प्रयोगमा ल्याएको आधुनिक प्रविधि र उपकरणका बारेमा जिज्ञासा राख्नुका साथै अधिराजकुमारी सोफीयाले बेलायत सरकारको सहयोगमा निर्माण भएको नयाँ भवन र स्तरोन्नति ‘रेक्टोफिटिङ्ग’ गरिएको भवनको समेत अवलोकन गरिन। 

अवलोकनपछि छलफलका क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका १३ वटै अस्पतालमा प्रसूति कक्षलाई आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचनाका लागि काम भइरहेको बताइन । 

मन्त्रालयका स्वस्थ्य सचिव डा सुमित्रा गौतमले भक्तपुर अस्पताल मुलुकको नमूना अस्पताल बनाउन सफल भएको उल्लेख गर्दै प्रदेशका सबै अस्पतालको विकासमा मन्त्रालय योजनाबद्ध रूपमा लागिरहेको बताइन ।

अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले भक्तपुर अस्पतालले भक्तपुरका मात्रै नभई पूर्वदेखिका बिरामीलाई सवा दिइरहेको बताउदै अस्पतालले एमआरआई, सिटी स्क्यान, डायलोसिस मेशिन सञ्चालनमा ल्याउन पाए बिरामीले धेरै राहत पाउने बताए । 

त्यसैगरी अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टले सोफीयालाई अस्पतालले प्रजनन् स्वास्थ्यमा पुर्‍याउँदै आएको सेवा र अवस्थाका बारेमा जानकारी दिए । 

अधिराजकुमारी सोफीयले भक्तपुर अस्पतालको सेवाका बारेमा जानकारी लिँदै बिरामीसँग कुराकानी गरिन। सोफीयासँगै बेलायत राजदूतावासका स्वास्थ्य सल्लाहकार डिएगो मोरोसो, दूतावासका समन्वयकर्ता दीपक कार्कीलगायत टोलीले अस्पतालको अवलोकन गरेको अस्पताल स्रोतले जनाएको छ । रासस 

    

प्रतिक्रिया