रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । 

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने अदालतमा उपस्थित भएका हुन् । 

जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार दर्ता गरेको पूरक अभियोजनमा  लामिछानेमाथि ठगी कसुरमा मात्र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसूर गरेको अभियोग लगाइएको छ ।
 
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८.४७  रहेको छ । हाल जाहेरी परेको रकम ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ । ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप १४ करोड २३ लाख ६ हजार १ सय ३१.४७  जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।  

बचत रकम अपचलन गरेको आरोप लाग्नेमा लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेका छन् । यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछानेको नाम किटान गरिएको थिएन ।अहिले मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् । 

साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीहरु  गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेसनल प्रालि, जीवि ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालिविरुद्ध पनि मुद्दा चलाइएको छ । 

मुद्दा दायर भएका कूल ३२ जनामध्ये १२ जनाविरूद्ध ठगी र सङ्गठित अपराधमा र २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो । सङ्गठित अपराध र ठगीमा प्रतिवादी कायम भएकाहरू जीवि राई भन्ने जीतेन्द्रबाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्तबाबु राई, भूपेन्द्र्र राई, देवेन्द्रबहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्र बास्तोला रहेका छन् ।

प्रतिक्रिया