अबको राजनीतिक मुद्दा भ्रष्टाचार अन्त्यका लागि हो : अध्यक्ष दाहाल

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारकै कारण नेपालमा आर्थिक सङ्कट देखिएको बताएका छन् ।

माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभामा उनले नेपालको आर्थिक, सामाजिक र भौतिक विकासको बाधकका रूपमा रहेको भ्रष्टाचारको अन्त्य अबको राजनीतिक मुद्दा भएको बताए ।

देशलाई आर्थिक सङ्कटबाट मुक्त बनाउन भ्रष्ट्राचारविरुद्धको लडाइमा जनताको साथ आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो । “हिजो जनअधिकार र व्यवस्था परिवर्तनको नेतृत्व गर्‍यौँ, अब देश विकासको बाधक भ्रष्टाचार अन्त्यका लागि अगाडि बढ्छौँ । यसमा सबैको साथ आवश्यक छ”, उनले भने ।

पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा काम गरेर जनतामा आशा र विश्वास जगाउने प्रयत्न गरेको धारणा राखे ।

“विद्युत् वितरण प्रणालीको चुहावट नियन्त्रण गरेर लोडसेडिङको अन्त्य, संविधानको कार्यान्वयन, समावेशी, समानुपातिक व्यवस्थाको अगुवाइलगायत काम भएका छन् । तीस हजार गरिब किसानको कृषि ऋण मिनाह गर्ने काम भएको छ”, उनको भनाइ छ ।

प्रतिक्रिया