सुशासन र प्रशासकीय क्षेत्रमा महत्त्वपूर्ण काम भएका छन् : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र प्रशासकीय क्षेत्रमा सरकारले धेरै महत्त्वपूर्ण काम गरिरहेको बताएका छन् ।
कोशी प्रदेशसभाको सातौँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले विगत वर्षभन्दा यस वर्ष भौतिक र वित्तीय क्षेत्रमा पनि प्रगति हासिल गरेको दाबी गरे ।
अन्य प्रदेशको तुलनामा कोशी प्रदेश सरकारको प्रशासनिक खर्च कम भएको बताउँदै मुख्यमन्त्री कार्कीले केन्द्रीकृत सोचका कारणले प्रदेश संरचनाले उचाइ प्राप्त गर्न समस्या भइरहेको टिप्पणी गरे ।
उनले प्रशासकीय, वित्तीय र राजनीतिक सङ्घीयताले मात्र प्रदेश संरचना बलियो हुने भन्दै सरकारले केही समयपछि प्रदेश राजस्व कार्यालय स्थापना गर्ने तयारी गरेको जानकारी दिए ।
लगानी सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनको माध्यमबाट प्रदेशमा आर्थिक विकासको जग बसाल्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै उनले सङ्घीय सरकारले प्रदेशलाई अन्तःशुल्क वा मुख्य अभिवृद्धि करमध्ये कुनै दिएमा प्रदेश आर्थिक रूपले सबल हुने बताए ।
मुख्यमन्त्री कार्की जग्गाको प्राप्तिसँगै आगामी आर्थिक वर्षमा प्रदेशका दिगो संरचनाको निर्माण कार्य शुरू हुने बताउँदै उनले प्रदेश सरकारले योजना बैंकमार्फत योजना सङ्कलन गरी योजना छनोट गर्ने र विकासको कार्यलाई अगाडि बढाउने बताए ।
प्रतिक्रिया