इजरायलमा हमासको आक्रमणमा परी केही नेपाली हताहत भएका हुन सक्छन्: परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले इजरायलमा प्यालेस्टाइनले गरेको आक्रमणमा केही नेपालीको निधन भएको हुन सक्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा यस घटनाबारे जानकारी गराउँदै उनीहरुको अवस्था बुझ्न संयन्त्र परिचालन गरिएको बताए ।
इजरायलमा केयर गिभर कामदारको रुपमा ४ हजार ५ सय नेपाली रहेको र २६५ जना विद्यार्थीहरु रहेको जानकारी गराए । कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभूवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी अध्ययनका क्रममा इजरायलमा रहेको उनले बताए ।
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि गएका मध्ये १७ नेपाली इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेको र यो गाजा क्षेत्र नजिक रहेको जानकारी गराए । त्यहाँ रहेका १७ विद्यार्थीमध्ये २ जना सकुशल, ३ जना घाइतको स्थानीय अस्पतालमा उपचार भएको र बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको, केही हताहत भएको हुनसक्ने उनले बताए ।
नेपाली समयअनुसार हिजो बिहान ६ बजेदेखि हवाई, जल, स्थलमार्गबाट इजरायलको दक्षिणी क्षेत्रमा प्रवेश गरी आक्रमण भएको र दशकौँपछिको यो ठूलो आक्रमणको रुपमा लिइएको उनले बताएका छन् ।
प्रतिक्रिया