एशियाली खेलकुदका सबै प्रतिस्पर्धा सम्पन्न, २०१ स्वर्णसहित चीन पहिलो
चीनको हाङ्चउमा जारी १९औँ एशियाली खेलकुदका सवै स्पर्धा सकिएको छ । आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएपछि १९औं एशियाली खेलको सबै स्पर्धा सकिएको छ । आयोजक चीनले एसियाली खेलकुदमा कीर्तिमानी २०१ स्वर्ण जितेको छ । चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनाएको हो । जसमा चीनले सर्वाधिक २०१ स्वर्ण १११ रजत र ७१ कांस्यहसित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । चीनले अन्तिम दिन आइतबार आर्टिस्टिम स्विमिङमा स्वर्ण जित्दै कुल २०१ स्वर्ण जितेको हो । यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो । त्यसैगरी, १९औँ एशियाली खेलकुदमा जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो । यस्तै भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत ४१ कांस्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो । एक रजत र एक कांस्य जितेको नेपाल २ पदकसहित संयुक्त रुपमा ३३औँ स्थानमा रह्यो । यस पटक एसियाको ४५ राष्ट्र सहभागी भएकोमा ४१ राष्ट्रले पदक जितेका छन् । साउथ एसियन राष्ट्र भुटान र माल्दिभ्स, यमन र टिमोर लिस्टेले भने कुनै पदक जित्न सकेनन् । अहिलेसम्मकै ठूलो प्रतियोगितामा ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडी सहभागी भएका थिए । उनीहरुले ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धा सकिएसँगै हाङ्चउमा जारी १९औँ एसियाली खेलकुद आज समापन हुँदैछ । समापन समारोह हाङ्चउस्थित ओलम्पिक खेलकुद स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे शुरु हुनेछ । रजत पदक विजेता करातेकी एरिका गुरुङले एसियाली खेलकुद समापनमा नेपालको राष्ट्रिय झण्डा बोक्ने छिन् । समापन समारोह लगभग ७५ मिनेट चल्ने बताईएको छ ।
प्रतिक्रिया