सडक बत्तीको विद्युत् महशुल भुक्तानी गर्न स्थानीय निकायहरुलाई प्राधिकरणको आग्रह
नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको विद्युत् महशुल भुक्तानी गर्न स्थानीय निकायहरुलाई आग्रह गरेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै सडक बत्तीको महशुल ४५ दिन भित्रमा भुक्तानी गर्न स्थानीय तहहरुलाई आग्रह गरेको हो । सडक बत्ती प्रयोग गरेवापत गएको असार मसान्तसम्मको महशुल नबुझाए कारबही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ । त्यसैगरी स्थानीय तहहरुलाई मिटर नराखी आफूखुसी जथाभावी सडक बत्ती जडान नगर्न पनि प्राधिकरणले आग्रह गरेको छ । सडक बत्ती प्रयोग गरेवापत काठमाडौं महानगरपालिकासहित ३ सय ३२ स्थानीय तहले प्राधिकरणलाई भुक्तानी गर्न बाँकी छ । असार मसान्तसम्म स्थानीय तहहरुबाट ६ अर्ब ८ करोड ९४ लाख ३११ रूपैयाँ उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । काठमाडौं महानगरपालिकाले मात्रै प्राधिकरणलाई १ अर्ब ३१ करोड ६२ लाख ९८ हजार ७७२ रूपैयाँ बक्यौता तिर्न बाँकी छ ।
प्रतिक्रिया