पूर्व उपराष्ट्रपति पुनलाई माओवादीले दियो जिम्मेवारी, फर्किए सक्रिय राजनीतिमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ)लाई पार्टीको जिम्मेवारी दिने निर्णय गरेको छ । सोमबार (आज) बसेको पदाधिकारी बैठकले उनलाई आर्थिक तथा उत्पादन विभागको प्रमुख बनाउने निर्णय गरेको हो ।

यसअघि पुनलाई पार्टीको उपाध्यक्षमा मनोनयन गर्ने चर्चा चलेको थियो । पार्टी अध्यक्ष पुष्प कमल दाहालले पनि उनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी गरेका थिए । पछि अन्य नेताहरुले विरोध गर्दा उनलाई उपाध्यक्ष बनाउने तयारी रोकिएको थियो ।

तर, पदाधिकारी बैठकको  निर्णय अनुसार उनले उत्पादन विभागको जिम्मेवारी पाएका हुन् । पार्टीले जिम्मेवारी दिएसँगै उपराष्ट्रपति पुन फेरि सक्रिय राजनीतिमा फर्किने निश्चित भएको छ ।

पूर्व उपराष्ट्रपति पुन माओवादीको बैठकहरुमा यस अघिबाटै सहभागी हुन थालेका छन् । पौष अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकमा पनि उनी पदाधिकारीकै सरह कुर्सीमा बसेका थिए ।

माओवादीका शीर्ष मध्येका नेता उनी दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए । २०७२ मा संविधान जारी भएपछि विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा उनी उपराष्ट्रपति बनेका थिए ।

प्रतिक्रिया