पाथीभरामा केबलकार निर्माण विवाद : आन्दोलनरत पक्षबाट सरकारसँग वार्ता गर्न समिति गठन
काठमाडौं । सरकारी वार्ता टोलीसँग सहजीकरणका लागि ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि आन्दोलनरत पक्षले वार्ता सहजीकरण समिति गठन गरेको छ ।
आन्दोलनरत पक्षले प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको समिति गठन गरेको हो ।
यस अघि सरकारले केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।
यही माघ १२ गतेदेखि केवलकार केवलकार निर्माणको विपक्षमा रहेर आन्दोलनरत पहिचान पक्षधर र केवलकार निर्माणको पक्षमा रहेकाहरूबिच द्वन्द्व सिर्जना भएको थियो । वार्ता सहजीकरण समिति गठन भएसँगै द्वन्द्व व्यवस्थापनका लागि वार्ता प्रक्रिया शुरु हुने भएको छ ।
मुक्कुमलुङ संरक्षक संस्था र राजनीतिक दलहरूले सोमबार विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा भइरहेको आन्दोलन, संघर्षहरूको स्थायी समाधान गर्न र वार्ताका लागि न्यूनतम वातावरण बनाउन वार्ता सहजीकरण समिति गठन गरिएको जनाएको हो ।
बिज्ञप्तिमा बिभिन्न आठवटा संघ संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । गत कात्तिकमा पनि केवलकार निर्माणको पक्ष र बिपक्षमा रहेकाबिच द्वन्द्व भएको थियो ।
प्रतिक्रिया