राष्ट्रियसभा अध्यक्षद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन् ।
आज आफूसँग भेट गर्न आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उहाँले जोशीको रिहाइका साथै इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन आग्रह गरेका अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।
सिंहदरबारमा आज भएको भेटमा उनीह्रूबीच दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रेस संयोजक मल्लले बताए ।
भेटमा राजदूत श्मुलिकले हमासको नियन्त्रणमा रहेका नेपाली युवा जोशीलाई छुटाउन इजरायलले निरन्तर पहल गरिरहेको जानकारी दिँदै आज बिहान मात्रै विपिनका बुवालगायत परिवारका सदस्यलाई भेटेको बताए ।
हमासको आक्रमणलगत्तै नेपाल, थाइल्याण्ड र फिलिपिन्सले आफ्ना विद्यार्थीको उद्धार गरी ल्याएकामा अहिले थाइल्याण्ड र फिलिपिन्सका विद्यार्थी इजरायल फर्किसकेको, अब त्यस्तो घटना नदोहोरिने र उनीहरूको सुरक्षाको जिम्मा इजरायल सरकारले लिने राजदूत बासले बताएका थिए ।
प्रतिक्रिया