नागरिकको जीविकोपार्जन सहज बनाउन सरकार लागिरहेको छ : उपप्रधानमन्त्री सिंह
बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउनतर्फ केन्द्रीत भएर लागेको बताएका छन् ।
जिल्लाको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले संसद्का दुई ठूला दल मिलेर बनेको सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
मुलुकमा राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले हाल स्थायी प्रकृतिको सरकार बनेपछि लामो समयदेखि रोकिएका काम अगाडि बढेका बताए ।
भन्छन्, “सरकारका विषयमा विभिन्न व्यक्तिहरूले नकारात्मक टीकाटिप्पणी गरे पनि पछिल्लो समय देशभर आशा जगाउने गरी काम अगाडि बढिरहेका छन् । मेरो नेतृत्वको सहरी विकास मन्त्रालयले पनि देशभर सुरक्षित र व्यवस्थित सहर बनाउने गरी काम गरिरहेको छ । यस कारण जसले जे भने पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म अगाडिठ बढ्छ ।”
उपप्रधानमन्त्री सिंहले जनताको नजिक रहेको स्थानीय सरकारका समस्या समाधान गर्न माथिल्लो तहका सरकारबीच सहकार्य जरूरी रहेको धारण राखे ।
“तीनै तहका सरकार जनताको समस्या समाधान गरी समृद्ध मुलुक निर्माणका लागि बनेका हुन् । अब एकताबद्ध र सहकार्यको भावनाका साथ जनताको पक्षमा काम गर्न जुटौँ । त्यसका लागि केन्द्रीय सरकार प्रतिबद्ध छ”, उनले भने ।
प्रतिक्रिया