चितवनमा रवि लामिछानेसहित १४ जना विरुद्ध मुद्दा दर्ता भोली हुने

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित १४ जनाविरुद्ध मुद्दा दर्ता भोली हुने भएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा चितवन जिल्ला अदालतमा आजै मुद्दा दर्ता गर्ने तयारी थियो । तर, वकिलहरूको कार्यव्यस्तताका कारण भोलि (मंगलबार) मात्रै उनीहरु विरुद्ध मुद्दा दर्ता हुने भएको हो ।

सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम अपचलन गरेको अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि तथ्यतथ्यांक नमिलेको भन्दैं पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न भनेर फाइल प्रहरीको फर्काएपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा एक साता अगाडिमात्रै फाइल पठाएको थियो ।

प्रहरीले पठाएको अनुसन्धान प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले आज उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

लामिछाने सहितलाई ठगी तथा संगठित अपराध कसुरमा समेत मुद्दा दर्ता गरिने अदालत स्रोतले बताएको छ । विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने छ ।

प्रहरीको अनुसन्धानमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटी तिरेर विभिन्न मितिमा लामिछाने रिहा भएका थिए ।

प्रतिक्रिया