देखेको भरमा नभइ कागजमा लेखेको भरमा फैसला गर्नुपर्ने स्थिति छ : नेता सिटौला
काठमाडौं । नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल शुरु भएको छ ।
सोमवारबाट राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा दफावार छलफल शुरु भएको हो । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले गर्ने फैसलाहरु उच्च र जिल्ला अदालतले मानेर जानुपर्ने भएकाले राम्रो नजिर बस्नेगरी फैसला गर्नुपर्ने बताए ।
उनले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ के नपुगेर ल्याइएको हो भन्ने प्रश्नको जवाफ माग गरे । उनले नेपालको कानूनी प्रणालीमा आँखाले देखेको भरमा निर्णय गर्ने पद्धति नरहेको र कागजमा देखेको भरमा निर्णय गर्ने पद्धति रहेको बताए ।
उनले भने, ‘सर्वोच्चले फैसला गरेका कुराहरु नजिरको रुपमा आउँछ, त्यो नजिर उच्च, जिल्ला अदालतहरुले नजिरका रुपमा लिनुपर्ने हुन्छ । पहिला के थियो, र के नपुगेर अहिले यो कानून ल्याउनुभएको हो । हाम्रो सिस्टममा आँखाले देखेको भरमा निर्णय गर्ने पद्धति छैन, कागजमा लेखेको भरमा निर्णय गर्ने पद्धति छ । न्यायपालिकालाई निष्पक्ष र प्रभावकारी बनाउन यो विधेयक ल्याएको हुनुपर्छ ।’
न्यायपालिकालाई निष्पक्ष र प्रभावकारी बनाउन विधेयकले काम गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया