कलङ्कको रूपमा रहेको गरिबीलाई छिटो हटाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाल समृद्ध देश बन्ने आधारहरु धेरै रहेको उल्लेख गर्दै उनले नेपाल गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पूर्खाहरुको देश भएको उल्लेख गर्दै वाधिन र स्वाभिमानी देश भएको बताए ।

उनले नेपालको भुगोल उर्वर रहेको र भौगोलिक क्षेत्रको आवश्यक विविधता पनि नेपालसँग रहेको बताए । नेपालले तेल र फलाम खानीहरुको उत्खनन गरिहेको भन्दै कलंकको रुमपा रहेको गरिबीलाई छिटो हटाउन आवश्यक रहेको बताए ।

उनी भन्छन्, “नेपाल एउटा समृद्ध देश हुनुपर्दछ । तीन वटा कारण छन् । एउटा यो गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान पूर्खाहरुको देश हो । सधैँ स्वाधिन र स्वाभिमानी देश हो । यस कारण यो समृद्ध हुनसक्दछ । यसको भुगोल समृद्ध हुनसक्दछ । हिमाल, पहाड, तालतलैयाहरु सबै छन् । फाँटहरु छन्, उर्वरता छ । यो मरुभूमि देश होइन, यो उर्वर देश हो । हामी तेलको उत्खनन गर्दैछौँ । हामी फलामहरुको उत्खनन गर्दैछौँ । हामी अनेक हिसावले आत्मनिर्भर हुनसक्छौँ । त्यसकारण यो देश समृद्ध हुनसक्छ । हामीसँग मेहनती, बहादुर, प्रसिद्ध युवा जनशक्ति छ । ४२ प्रतिशत युवा जनशक्ति अहिले पनि छ । नेपालले विकास गर्ने सम्भावना रहेको छ । अहिले २२ लाख करिव युवाहरु विदेश गएर दुनियाँलाई विकास दिइरहेका छन् । आफ्नो देश विकास गर्न नसक्ने भन्ने होइन । अहिले पनि १ करोड युवाहरु देशभित्रै छन् । एआईको जमानामा एउटा कलंकको रुमपा रहेको गरिबी छ, त्यसलाई सकेसम्म छोटो समयमा समाप्त पार्नुपर्दछ । यस देशलाई समृद्ध नेपाल बनाउनु पर्दछ, धनी जनता बनाउनु पर्दछ । नेपाली जनतालाई सुखी बनाउनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले देश बनाउने आफ्नो सपना भनेको समृद्ध नेपाल, सुखी नेपाली रहेको बताए ।

प्रतिक्रिया