इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते

इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । उनीहरुको परिचय भने खुलाइएको छैन । मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको जनाउँदै, आक्रमणको घटनाको कडा निन्दा गरेको छ । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरू ’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए । यसैबीच नेपाली राजदूतावास, तेल अविवले एक अपिल जारी गरी अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्न र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्न त्यहाँ रहेका नेपालीहरु अनुरोध गरेको छ । अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुको सहयोग तथा उद्धारका लागि दूतावासले ईजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरुसँग निरन्तर समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ । दूतावासले आक्रमण जारी रहेकाले विद्यार्थीहरूलाई सतर्क रहन आग्रह पनि गरेको छ ।।
 

प्रतिक्रिया