नारायणघाट–बुटवल सडक विस्तारको कामले गति लिदैं
नवलपुर (नवलपर) । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारले गति लिएको छ ।
नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले अहिले उक्त खण्डका विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिएका छन् ।
पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको जानकारी दिँदै खनालले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताए । अब करिब २२ किलोमिटर सडक कालोपत्र सकिएपछि नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने सूचना अधिकारी इन्जिनियर खनालले बताए ।
दाउन्नेको साँघुरो सडकमा कल्भर्ट निर्माण गर्दा सवारीसाधन एकतर्फी गर्नुपर्ने अवस्था रहेको भन्दै दाउन्नेसम्म कालोपत्र गर्न केही समय लाग्ने उनको भनाइ छ । सडक विस्तारका लागि ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा पाँच सय ५० जना श्रमिकले काम गरिरहेको उनले जानकारी दिए । हालसम्म सडकको भौतिक प्रगति ५३ दशमलव तीन प्रतिशत रहेको भन्दै उनले एक महिनामा एक दशमलव ४३ प्रतिशत प्रगति भएको बताए ।
दुम्कीबासको जङ्गल क्षेत्रको करिब आठ किलोमिटर क्षेत्रमा पनि कालोपत्र गर्नेगरी काम भइरहेको सूचना अधिकारी इन्जिनियर खनालले बताए । यस खण्ड निर्माणका लागि ग्लोबल ‘टेन्डर’मार्फत चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’लाई ठेक्का परेको थियो ।
विसं २०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबीच विसं २०७९ साउन २२ भित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । कुल एक सय १४ किलोमिटर सडकलाई गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल (४९ किलोमिटर) गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको ‘टेन्डर’मा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो ।
निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलोपटक २०८० साउन ८, दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीनपटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले तेस्रोपटक म्याद थप गरेको छ ।
म्याद थप गरिएको चार महिना काम नै नगरी समय बिताएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि गत डिसेम्बरबाट पुनः काममा फर्किएको थियो । दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गरी दुई–दुई लेनको बीचमा ‘ग्रिनरी’ राखिनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाउने गरी ठेक्का सम्झौता भएको छ ।
सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाइ सात/सात मिटरको हुनेछ । बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७.६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारीसाधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२.७ किलोमिटर खण्ड चार लेनको हुनेछभने दाउन्ने खण्डको पाँच किलोमिटर सडक तीन लेनको हुने जनाइएको छ ।
रासस
प्रतिक्रिया