पाठेघरको मुखको क्यान्सर विरुद्ध निशुल्क खोप भोलि मंगलबारबाट लगाइने
काठमाडौ । सरकारले बालिकाहरूलाई निःशुल्क दिन लागेको एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानको तयारी पूरा भएको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाको खोप शाखाका अनुसार यो खोप १० देखि १४ वर्षभित्रका सबै बालिकालाई माघ २२ गते मंगलबारबाट दिइनेछ । सबै विद्यालयमा र विद्यालयबाहिर गरी देशभरि २८ हजार ५ सय खोप केन्द्रमार्फत खोप दिने तयारी भएको छ । विद्यालयमा अध्ययनरत बालिकाका हकमा विद्यालयभित्रै र बाहिरकालाई स्वास्थ्य केन्द्र र नजिकका खोप केन्द्रमार्फत खोप दिने गरी तयारी भएको छ । शाखाका अनुसार ९० प्रतिशत खोप केन्द्र विद्यालयमा र १० प्रतिशत बाहिर छन् । कुनै कारणवश खोप लिन छुटेकाहरूका हकमा सम्बन्धित ठाउँमै पुगेर पनि खोप दिने गरी व्यवस्था मिलाइएको छ । यो वर्ष नेपाल सरकारले गाभीमार्फत खरिद गरी १७ लाख ३० हजार डोज खोप लिएको हो । केन्द्रहरूमा सबै खोप पुगिसकेको शाखाले जनाएको छ । सरकारले सिकोलिन नामको एचपिभी खोप दिन लागेको हो । यो वर्ष १६ लाख ८८ हजार जना बालिकालाई खोप दिइनेछ । निःशुल्क दिन लागिएको यो खोप भने खरिदसहित एक अर्ब ३० करोड रूपैयाँ सरकारको लगानी छ । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रतिवर्ष औसत १३ देखि १४ सय महिलाको मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया