गण्डकी प्रदेशसभाको सातौं अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौ । गण्डकी प्रदेशसभाको सातौं अधिवेशन आजबाट सुरु हुँदैछ । हिउँदे अधिवेशनको नामले चिनिने यो अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो २ बजे बस्ने छ । माघ ८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक आह्वान गरेका हुन ।  आइतबार भएको कार्य व्यवस्था परामर्श समितिले सोमबारको बैठकका कार्यसूची तय गरेको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश टेबुल गर्ने र प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गर्ने तय भएको छ । प्रदेशसभाको अर्को बैठक माघ ३० गते बोलाउने निर्णय कार्य व्यवस्था परामर्श समितिले गरेको छ ।  प्रदेशसभाको छैठौं अधिवेशन असोज ८ गते अन्त्य भएको थियो । अहिले प्रदेश सभाका विषयगत समितिमा गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत÷सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका क्रममा छन् ।।

प्रतिक्रिया