विवाह भएको दुई महिनामा बुहारीको हत्या
महोत्तरी । महोत्तरीको गौशालामा विवाह भएको दुई महिनामा बुहारीको हत्या भएको छ । प्रहरीका अनुसार गौशाला ८ कि २१ वर्षीया खुश्वु यादवको हत्या भएको हो । उनको शव गौशालाकै वडा नम्बर ५ स्थित युक्लिप्टिसको सुनसान घारीमा आइतबार अपराह्न फेला परेको थियो । खुश्वुलाई धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी सन्तुलालप्रसाद जयसवारका अनुसार खुश्वुको दाहिनेतर्फको कानदेखि नाकसम्म काटिएको छ । मृतक खुश्वुको माइतीघर महोत्तरीकै समसी गाउँपालिका वडा नं १ पर्सादेवाड हो । विवाह गत मङ्सिर ७ गते गौशाला ८ बेलगाछीका चन्देश्वर यादवको छोरो अभिषेक यादवसँग भएको थियो । हत्या दाइजोको कारण भएको माइती पक्षको आरोप छ । प्रहरीले शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखे पनि कसैलाई पक्राउ गरेको छैन।
प्रतिक्रिया