बझाङका केहि स्थानमा भूकम्पपछि परकम्प जाने क्रम जारी

काठमाडौं । बझाङमा गत १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भेटेखोला आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गत मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा तालकोट केन्द्रबिन्दू भएर ५.३ र ३ बजेर ६ मिनेट जाँदा चैनपुर केन्द्रबिन्दू भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । मंगलबारको भूकम्पपछि लगातार परकम्प गइरहेका छन् । बझाङमा गएको भूकम्पले सुदूरपश्चिमका ७ जिल्ला प्रभावित भएका छन् । भूकम्पबाट सबैभन्दा धेरै भौतिक क्षति बझाङमा भएको छ । बझाङमा मात्रै भूकम्पमा परी २० जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । यस्तै सयौँ घरमा क्षति पुगेको थियो । विगत पाँच सय वर्षदेखि भूकम्प नगएको पश्चिम नेपालमा पछिल्लो केही समयदेखि भूकम्प जान थालेको हो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
 

प्रतिक्रिया