आज ३ जना इजरायली बन्धक रिहा, बदलामा छाडियो १ सय ८३ प्यालेष्टिनी कैदी

एजेन्सी । हमासका लडाकूसमूहले युद्धग्रस्त गाजा पट्टीमा करिब १६ महिना बन्धक बनाएर बसेका इजरायली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेका छन् ।

युद्धविराम सम्झौता अनुसार इजरायलले बन्धकको रिहाइको बदलामा १ सय ८३ जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीहरूलाई छोडेको छ ।

इजरायलले शनिवार छाड्नेमा एक सय भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू गाजाका छन् र करिब ७० जना भन्दा धेरै लामो अवधिको सजाय वा आजीवन कारावास सजाय तोकिएका व्यक्तिहरू हुन् ।

इजरायल र प्यालेस्टिनी इस्लामिक समूह हमासबीच जनवरी १९ देखि लागू भएको युद्धविराम र बन्धक बन्दी आदानप्रदान सम्झौताअन्तर्गत मुक्त हुने बन्धकहरूको यो चौथो समूह हो ।

प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट रेडक्रसलाई बुझाइएका ३४ वर्षीय यार्देन बिवास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोन इजरायल आइपुगेको इजरायली सुरषा बल (आईडीएफ)ले जनाएको छ ।

अर्का बन्धक ६५ वर्षीय किथ सिगललाई भने शनिवार नै गाजासिटीबाट मुक्त गरिएको थियो । उहाकोँ इजरायल र अमेरिकाको दोहोरो नागरिकता रहेको छ । उनीहरू जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन् ।

यसैबीच, बिवासकी श्रीमती र दुई छोराहरूको बन्धक रहेकै अवस्थामा गाजामा मृत्यु भएको भनिएको घटनाबारे इजरायलले मध्यस्थकर्ताबाट स्पष्ट जानकारी मागेको छ । बन्धक बनाइँदा बिवासका एक छोरा चार वर्षका र अर्का १० महिनाका थिए ।

हमासले इजरायली हवाइ हमलामा परेर सन् २०२३ नोभेम्बरमा उनीहरूको मृत्यु भएको दाबी गरेपनि इजरायलले त्यसको अझै पुष्टि गरेको छैन ।

प्रतिक्रिया