जलवायु परिवर्तनको मुद्दा विद्यालयको अनिवार्य शिक्षामा लागू गर्नुपर्छ : वनमन्त्री ठकुरी
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको मुद्दालाई पाठ्यक्रममा समावेश गरेर लैजाने प्रतिबद्धता जनाएका छन् ।
शनिवार काठमाडौंमा न्युज एजेन्सी नेपालले आयोजना गरेको जलवायु परिवर्तनमा युवाका भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका मुद्दालाई विद्यालयको अनिवार्य शिक्षाका रुपमा पनि लागू गर्दै लैजानुपर्ने अवस्था रहेको उल्लेख गरे ।
जलवायु परिवर्तनसम्बन्धी मुद्दाको बारेमा जानकारी दिन सरकारले पाठ्यक्रममा समेट्ने प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।
उनले जलवायु परिवर्तनका मुद्दाहरु वन तथा वातावरण मन्त्रालयले मात्रै बोकेर नसक्ने भन्दै तल्लो स्तरबाटै स्थापित गर्दै र जनचेतना फैल्याउँदै लैजान जरुरी रहेको बताए ।
मन्त्री ठकुरीले सरकार युवाका मुद्दाहरुलाई गम्भीरताका साथ लिएर युवाहरुले उठाएका आवाजहरुलाई कार्यान्वयन गर्न अघि बढिरहेको बताए ।
निकट भविष्यमै युवा नीति पास गर्ने तयारीमा रहेको जानकारी दिँदै मन्त्री ठकुरीले युवाका आवाज एकीकृत गरेर अगाडि बढ्न नेपाल सरकार तत्पर रहेको बताए ।
मन्त्री ठकुरीले आगामी वर्षको बजेटमा जलवायु परिवर्तनको मुद्दामा युवाको सहभागिता र सक्रियतालाई अक्र बढी स्थान दिन प्रयास र पहल गर्ने दाबी गरे ।
प्रतिक्रिया