त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १६ घण्टा सञ्चालनमा
काठमाडौं । पूर्वाधार विस्तारका कारण गएको कात्तिकदेखि १४ घण्टा मात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १६ घण्टा सञ्चालनमा आएको छ ।
यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान बन्द हुँदै आएको विमानस्थल आजदेखि बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुनेछ ।
पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएपछि विमानस्थल सञ्चालनको समय दैनिक दुई घण्टा बढाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउनसक्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत भइरहेको काम चैत १८ गतेभित्र सक्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया