बाढीले घरबारविहीन भएका नागरिकलाई अस्थायी आवास निर्माण

काठमाडौं । गत असोज दोस्रो साता आएको बाढीबाट घरबारविहीन भएका काभ्रे रोशीका पीडितका लागि नारायणटारमा ३७ वटा अस्थायी आवास निर्माण गरिएको छ । विभिन्न संघ सस्थाको सहयोगमा रोशी–१ मा ७ र २ मा ३० वटा अस्थायी आवास निर्माण गरिएको हो ।

पालिकाले अति विपन्न परिवारलाई सेभ द चिल्ड्रेनको सहयोगमा प्रति टहरा ५० हजार रुपैयाँ खर्च गरेर अस्थायी आवास निर्माण गरेको हो । यसबाहेक संस्थाको सहयोगमा पीडितहरुलाई शौचालय, खानेपानी ट्याङ्की, न्यानो कपडा पनि उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । 

बर्खा शुरु नहुँदै ओत लाग्ने छाप्रो भए पनि पाएकोमा बढी प्रभावितहरु खुसी भएका छन् । उनिहरुले खोल्सालाई समयमै व्यवस्थित गर्न नसके अर्को बर्खामा पनि क्षति हुन सक्ने भन्दै वडा र पालिकाको ध्यानाकर्षण गराएका छन् । 

बाढीपहिरोले रोशी–१, २, ९ र ११ नम्बर बढी प्रभावित भएका थिए । प्रभावित क्षेत्रमध्ये अति आवश्यक भएको स्थानमा पालिकाले अस्थायी टहरा बनाएको हो । बाढी र पहिरोबाट पालिकाभर ५८५ घरधुरी पूर्णरूपमा क्षति भएका थिए ।

प्रतिक्रिया