कालोबजारी रोक्न नसकेको भन्दै सांसदहरुले गरे सरकारको आलोचना
सांसदहरुले चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । आज प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले सरकारले कालोबजारी रोक्न नसकेको बताएका हुन । नेकपा एमाले सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महंगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यसपालिको दशैँ मनाउछन् ? भन्दै सरकारलाई प्रश्न गरे ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चाडपर्वमा सडकमा खाल्टाखुल्टी रहेकोले पुर्नलाई सरकार समक्ष आग्रह गरे । सडकमा खाल्टाखुल्टीमा सवारी साधन होइन मान्छे नै डुब्न र पुरिन लागेको उनको भनाइ थियो ।
त्यस्तै,नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सडक मर्मत दशैँमा गाउँघरमा जाने विद्यार्थीहरुको लागि सरकारी र संस्थानका सवारीहरुको प्रयोग गर्ने गरी प्रवन्ध मिलाउन सरकारसँग माग गरे ।
सांसद भगवती चौधरी र विमला सुवेदीले चाडबाडका बेला सार्वजनिक सवारी साधनले यात्रुलाई ठग्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण हुनेगरी अनुगमनको माग गरे ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले त्रिभुवन विश्वविद्यालयमा भइरहेको उपप्राध्यापक तथा प्राध्यापकको अन्तर्वार्ता रोकेकोप्रति आपत्ति जनाए ।
रास्वपाका सांसद मनिष झाले जनकपुरमा हत्या गरिएकी आरती साहलाई न्याय दिनुको सट्टा पीडा दिने काम गरेको भन्दै सरकारको आलोचना गरे ।
शुन्य समयमा सांसदहरुले भुकम्प पीडितलाई राहत र पुर्नस्थापनाका लागि समेत सरकारको ध्यानाकर्षण गराएका छन ।
प्रतिक्रिया