ट्रम्प प्रशासनद्वारा मेक्सिको, क्यानडा, र चीनबाट आयातित सामानमा कर बृद्धिको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कार्यालय ह्वाइट हाउसले मेक्सिको,क्यानडा र चीनबाट आयात गरिने माल सामानमा कर बृद्धिको घोषणा गरेको छ । 

पुनः राष्ट्रपति बनेपछि ट्रम्पले आज शनिबारदेखि मेक्सिकोमा २५ प्रतिशत, क्यानडामा २५ प्रतिशत र चीनमा १० प्रतिशत कर लगाउने घोषणा गरेका जनाएको छ । आयातित मालसामानमा लगाइने यो करलाई ट्यारिफ भन्ने गरिन्छ । करकै कारण ट्रम्पको पहिलो कार्यकाल (सन् २०१८)मा पनि चीन र अमेरिकाबीचको व्यापारिक सम्बन्ध प्रभावित भएको थियो, जुन निवर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि जारी रह्यो।

यस्तो कर सामान निर्यातकर्तामा नभई आयात गर्ने कम्पनीहरूमा लागु गरिन्छ र यो आयातको मूल्यको अनुपातमा हुन्छ। यसमा यदि अमेरिकाको कम्पनीले मालसामान आयात गर्दै छ र उसले करको मूल्य जो व्यक्तिले सामान किन्दै छ उसमाथि उच्च खुद्रा मूल्य तोकेर लियो भने आर्थिक भार त्यही अमेरिकी उपभोक्ताले बेहोर्नुपर्छ।

डोनल्ड ट्रम्पको धारणा के छ भने यस्तो कर लगाउँदा त्यसले अमेरिकामा घरेलु रोजगारी सिर्जना र संरक्षण गर्छ। त्यसै गरी यसले गर्दा राजस्व बढ्ने र अमेरिकी अर्थतन्त्र वृद्धि हुने उनको दाबी छ ।

प्रतिक्रिया