तराई सँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

बागलुङ । अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले बिस्तारै सुगम तर्फ उन्मुख छ । 

एक दशक अगाडि सम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन् । सडकले प्रकृति र ढोरपाटनको सुन्दरता सँग रमाउन आउने पर्यटकलाई सामान्य भए पनि सहज भएको छ । कच्ची सडकका कारण बागलुङको दोस्रो ठुलो व्यापारिक केन्द्र बुर्तिबाङ बजार देखि करिब दुई घण्टामा उपत्यका पुग्न सकिन्छ ।

राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन’ सडकले ढोरपाटन उपत्यका जोडिएको छ । रूपन्देहीको सालझण्डी देखि ढोरपाटन जोडिए पछि अब विकट क्षेत्रमा समृद्धि आउने आश पलाएको छ । विसं २०६७ साल देखि शुरू भएको सडक आयोजनाले ढोरपाटन उपत्यका जोडिएको हो । सडक आयोजनाको काम सुस्त गतिमा भए पनि ढोरपाटन तराई सँग सिधा जोडिएको छ । पहाडको एक कुनामा रहेको ढोरपाटन तराई सँग जोडिनु सिङ्गो बागलुङवासीका लागि ठुलो अवसर पनि हो ।

रूपन्देहीको सालझण्डी देखि शुरू भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ गरी पाँच जिल्लालाई छिचोल्दै ढोरपाटन जोडेको छ । सालझण्डी देखि ढोरपाटन सम्म एक सय ९७ किलोमिटर लामो रहेको यस सडक बागलुङमा मात्रै ६१ किलोमिटर पर्छ । बागलुङको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडेको यस सडकले भारतीय पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । 

तराई र पहाडलाई जोडेको सालझण्डी–ढोरपाटन सडकले दुवै क्षेत्रमा उत्पादन हुने वस्तु बजारीकरण गर्न टेवा मिल्ने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत ९कल्याण०ले बताए । ढोरपाटनमा बर्सेनि करोडौँको आलु र स्याउ उत्पादन हुने तर सडकको अवस्था खराब हुँदा बजार पुर्‍याउन समस्या भएको उनको भनाइ छ । 

निर्माण कम्पनीले सडक स्तरोन्नति नगर्दा यहाँ हजारौँ नागरिक र पर्यटकले सास्ती खेप्नु परेको भन्दै यस तर्फ माथिल्लो सरकारको ध्यान जान जरूरी रहेको उपाध्यक्ष कायत बताउछन् । उनले भने, “ढोरपाटन सिधा तराई सँग जोडिएको छ, यो हाम्रो लागि गौरवको विषय हो, यो सडक कालोपत्र भयो भने यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने छ, यसै पनि ढोरपाटन चर्चित छ, भविष्यमा पर्यटन मार्फत नै यस क्षेत्रका नागरिकको जीवनस्तर उकासिन्छ भन्ने विश्वास छ, तराई सँग सिधै ढोरपाटन जोडिने हुँद बसाइँसराइ पनि रोकिने छ ।”

ढोरपाटन नगरपालिका–९ का खिमबहादुर पुन मगरले पहिले आफूहरू पैदल हिँडेर ११ दिनमा बुटवल पुगेर नुन, चमल र लत्ता कपडा ल्याउने गरेको स्मरण गर्दै अहिले सडक आएपछि गाउँभरि पसल खुलेको बताए । पछिल्लो दुई दशकमा ठूलो परिवर्तन आएको भन्दै कच्ची सडकका कारण ढुवानी र यात्रा गर्न असहज भएको उनको भनाइ छ । आफूहरूले यसरी विकास होला भन्ने कल्पना नगरेको पुन मगर बताउछन् ।

“बटौली पुगेर नुन बोकेको अस्ति भर्खर जस्तो लाग्छ, अहिले उ बेलाको जस्तो नुन चामल ल्याउन बटौली जानुपर्दैन, अचेल त घरै अगाडि गाडी गुड्छन्, चाहिने सामान सबै यही ल्याउँछन्”, उनले भने, “पहिले आलु, स्याउ र सिमी बिक्री हुँदैनथ्यो, अहिले गाडीमा हालेर बजार पठायो भने पैसा आउँछ, यो सडक (सालझण्डी–ढोरपाटन) पिच भयो भने सिधै तराईमा पठाउन सकिने छ, तराईको उत्पादन पनि ढोरपाटनमा सहजै आउने छ ।”

सालझण्डी–ढोरपाटन सडकले प्रसिद्ध धार्मिकस्थल लुम्बिनी र ढोरपाटन जोडेको हुँदा अब पर्यटक आगामनमा वृद्धि आउने होटल व्यवसासी गङ्गाबहादुर भण्डारीले बताए । तराई र पहाड ओहोरदोहोर गर्न यो सडक निकै छोटो हुने हुँदा व्यापारिक तथा अन्य गतिविधि बढ्ने उनको भनाइ छ । अहिले ढोरपाटन उपत्यका देखि बुकी पाटन जाने पर्यटक कम भएको भन्दै सडकको विस्तारपछि धेरै पुग्ने भण्डारी बताउछन् ।

उनले भने, “ढोरपाटन नेपालमा मात्र नभएर विश्वमै परिचित छ, वन्यजन्तुको सिकार खेल्न अहिले धेरै जसो विदेशी पर्यटक आउँछन्, सडकको सहजता बढ्दै गयो भने नेपाल भर बाट सिकारीहरू यहाँ आउने छ, पर्यटकीय हिसाबले ठुलो सम्भावन बोकेको हुँदा केही वर्षपछि ढोरपाटनमा पर्यटकले गुल्जार भन्ने छ, लुम्बिनी, ढोर बराह दर्शन गरेर उत्तरगङ्गामा स्नान गर्ने बढ्ने छ ।”

सालझण्डी–ढोरपाटन सडक आयोजानको काम कछुवा गतिमा हुँदा पर्यटक र स्थानीयले हैरानी खेप्नुपरेको छ । आयोजना शुरू भएको १४ वर्षमा ३० प्रतिशत मात्रै सकिएको छ । पहाडी जिल्लालाई तराई सँग जोड्नका लागि विसं २०६७ देखि शुरू भएको आयोजनालाई द्रुत गतिमा अगाडि बढ्न जरूरी छ । सिकार आरक्ष जोड्ने मुख्य मात्रका रूपमा रहेको यस सडक ट्रयाक खुलेदेखि स्तरोन्नति हुन सकेको छैन । यस सडक हाल सम्म १८ किलोमिटर मात्रै कालोपत्र भएको छ ।

त्यसमध्ये रूपन्देहीमा साढे चार किलोमिटर र अर्घाखाँचीमा साढे १३ किलोमिटर मात्रै सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाले जानकारी दिइन् । अहिले पाँच वटै जिल्लाको विभिन्न खण्डमा ग्राभेलिङसहितको काम भइरहेको उनको भनाइ छ । 

बागलुङको बुर्तिबाङ देखि फल्लेघर सम्मको २२ किमी ग्राभेल हुँदैछ भने रूपन्देही र पाल्पाको खण्ड अन्तर्गत कञ्चनखोला देखि खुर्साने सम्म साढे १३ किलोमिटर कालोपत्र भइरहेको थापाले बताइन् । पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पतौट सम्मको २२ किलोमिटर, अर्घाखाँचीको माटे देखि भण्डारा सम्म सात किलोमिटर र गुल्मीको पुर्कोटदह देखि सिर्सेनी सम्मको १९ किलोमिटर कालोपत्र भइरहेको उनको भनाइ छ । 

सिर्सेनीदेखि गुल्मीको अर्खबाङ सम्मको ८ दशमलव २ किलोमिटर सडक समेत कालोपत्र भइरहेको उनले बताइन् । अब अर्घाखाँची खण्डमा १८ किलोमिटर, गल्मी र बागलुङखण्डमा सातरसात गरी ३२ किलोमिटर सडक स्तरोन्नतिको काम अझै सुरू नभएको उनको भनाइ छ । 
रासस 

प्रतिक्रिया