जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई

सिन्धुपाल्चोक । जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई सिन्धु योङ स्टार युवा क्लबको आयोजना भएको भलिबल जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरले जितेको छ । 

शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक सिन्धु योङ स्टारलाई २–० को सेटमा पराजित गर्दै मेलम्ची–७ ले उपाधि सहित एक लाख नगद शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ । दोस्रो भएको आयोजकले ६५ हजारमा चित्त बुझाएको छ । 

त्यस्तै, जुगल गाउँपालिकालाई पराजित गर्दै सृजनशिल युवा क्लब मेलम्ची–७ ले तेस्रो स्थान सहित नगद ३५ हजार र शिल्ड मेडल प्राप्त गरेको आयोजक क्लबका सुनबहादुर घलेले जानकारी दिए । बिजेतालाई प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, वडा अध्यक्ष किरणदिप खडका लगायतले पुरस्कार प्रदान गरे । जनता माध्यमिक विद्यालय मेलम्ची–९को खेलकुद मैदानमा प्रतियोगिता आयोजना गरिएको थियो ।

मेलम्ची, हेलम्बु र पाँचपोखरी शिक्षक भलिबल प्रतियोगिता तेर्से मा.वि.मा शुरु

मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३४औँ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको शुक्रबार मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख तामाङले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले योजनावद्ध रुपमा काम गरिरहेको उल्लेख गर्दै विद्यालयका अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउन विद्यालयमा नृत्य प्रशिक्षक तथा खेल शिक्षकको व्यवस्थापन गर्ने कामको सुरुवात गरिएकोमा आगामी दिनमा त्यसलाई सबै विद्यालय सम्म प्रभावकारी रुपमा पुर्‍याउने गरी काम भइरहेको बताए ।

विद्यालय प्राङ्गणमा सञ्चालित प्रतियोगितामा पहिलो दिन लिग चरणमा खेल सञ्चालन भएका छन् । पहिलो चरणको सुरुको खेलमा आयोजक तेर्से माविले थाङ्पाल भ्यालीलाई पराजित गर्दै विजेता बन्न सफल भएको छ भने हेलम्बु मोडेल स्कूलले इन्द्रेश्वरी मा.वि.लाई, ज्योतिभञ्ज्याङ् आ.वि.ले बतासे मा.वि.लाई, जाल्पादेवी मा.वि. जैसिगाउँले सिन्धुपुरानागाउँ मा.वि.लाई, बालसुधार मा.वि.ले धौलेश्वरी आ.वि.लाई र चण्डिका मा.वि.ले सर्वोदय मा.वि.लाई पराजित गर्दै बिजेता बन्न सफल भएका छन् । 

लिग चरणका बाँकी खेल सहित शनिबार क्वाटरफाइनलका खेल हुने आयोजकले जानकारी दिएको छ । 
रासस 

प्रतिक्रिया