बझाङमा भूकम्पपछि तीन सयभन्दा धेरै साना ठूला परकम्प
सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रबिन्दु भएर तीन दशमलव नौ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलवार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन म्याग्निच्यूडको भूकम्प गएको थियो ।दोस्रो पटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर छ दशमलव तीन म्याग्निच्यूड, ३ः१३ बजे चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव एक म्याग्निच्यूड, ३ः४५ बजे सुरमा केन्द्रबिन्दु भएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो । विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
प्रतिक्रिया