दसैँको मुखमा अत्यावश्यकीय उपभोग्य वस्तुमा उच्च मूल्यवृद्धि
दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ । आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्य वृद्धिले झनै आक्रान्त बनेका छन् । पछिल्लो एक वर्षको बिचमा दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशतसम्मले मूल्य वृद्धि भएको पाइएको छ । यसबिचमा महँगो नभएको कुनै वस्तु नै छैन । चामल, दाल, गेडागुडी, आँटा, चिउरा, चिनी सबै महँगिएको छ । चिनीमा त पछिल्लो पटक कालो बजारी भएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार अघिल्लो वर्ष ८० रुपियाँमा पाइने जिरा मसिनो चामल अहिले बढेर प्रतिकेजीको ९५ देखि एक सय रुपियाँ पुगेको छ । रहर दाल प्रतिकेजी १८० रुपियाँबाट बढेर २७० रुपियाँ पुगेको छ । सो अवधिमा सेतो केराउ प्रतिकेजी १३० रुपियाँबाट बढेर १६० रुपियाँ, सानो केराउ प्रतिकेजी १७० रुपियाँबाट बढेर २२५ रुपियाँ पुगेको छ । हरियो केराउ बजारमा अहिले पाइनै छोडेको छ । दैनिक भान्छामा प्रयोग हुने जिरा गेडा प्रतिकेजी पाँच सय रुपियाँ रहेकामा अहिले बढेर प्रतिकेजी एक हजार तीन सय रुपियाँ पुगेको छ भने मेथी, ज्वानोलगायतमा प्रतिकेजी एक सय रुपियाँसम्म बढेको खुद्रा व्यापार सङ्घले जनाएको छ । त्यस्तै चिनी प्रतिकेजी ९० रुपियाँबाट बढेर १५० रुपियाँ पुगेको छरु। बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गएको असोज १ देखि आफ्नो नेतृत्वमा संयुक्त बजार अनुगमन गर्दै आएको भएपनि प्रभावकारी देखिएको छैन ।।
प्रतिक्रिया