भारतमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिदा १० जनाको मृत्यु

एजेन्सी । उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिए पछि  १० जनाको ज्यान गएको छ ।  

आज (बुधबार) बिहान साढे एक बजे भएको भागदौडमा तीर्थयात्रीको ज्यान गएको हो । संगममा केही महिलाहरू भुइँमा लडेपछि भीडले उनीहरूलाई कुल्चिएको बताइएको छ । दुर्घटनापछि घाइते र मृतकलाई अस्पताल लगिएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार संगम किनारामा एनएसजी कमाण्डो तैनाथ गरेर सर्वसाधारणको प्रवेश बन्द गरिएको छ । प्रयागराजमा भीड बढ्न नदिन, प्रयागराज शहर सँग सीमा जोडिएका सबै जिल्लामा भक्तजनलाई रोक्नका लागि निर्देश गरिएको छ । भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन् । 

अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले संगम नाकामा अत्याधिक भीडभाडका कारण यस्तो निर्णय गरिएको बताएका छन् । घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री योगी आदित्यनाथ सँग फोनमा कुरा गरेको समाचारमा उल्लेख छ । 

आज मौनी अमावस्याको महाकुम्भमा स्नान हुने भएकाले करिब ५ करोड भक्तजन नगरमा आउने अनुमान छ । राति अबेर सम्म संगम सहित ४४ घाटमा आठ देखि १० करोड भक्तजनले स्नान गर्ने सम्भावना रहेको छ । त्यसको एक दिन अघि मंगलबार साढे ५ करोड भन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए । सुरक्षाका लागि ६० हजार भन्दा बढी सैनिक तैनाथ छन् ।  

प्रतिक्रिया