एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि भारतमा सुरु
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १३ औं संस्करण आजदेखि भारतमा शुरु हुँदैछ । उद्घाटन खेलमा इङ्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुनेछ । एकदिवसीय ढाँचामा इङ्ल्याण्ड र न्युजिल्याण्डबीच कुल ९५ खेल भएका छन् । जसमा इङ्ल्याण्डले ४५ खेल जितेको छ भने न्युजिल्याण्डले ४४ खेल जितेको छ । दुई वटा खेल बराबरीमा रोकिँदा चार वटा खेल रद्द भएका छन् । इङ्ल्याण्ड गत वर्षको बिजेता हो ।न्युजिल्याण्डले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन । यस पटककोे विश्वकपमा विश्वका १० टोलीले सहभागी जनाएका छन् । आयोजक भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, इङ्ल्याण्ड र नेदरल्याण्ड्सले विश्वकपमा सहभागी छन् । भारतका विभिन्न १० शहरमा खेलाइने प्रतियोगितामा लिगका ४५ खेल र नकआउट चरणका ३ खेल गरी ४८ खेल हुने छन् । विश्वकपभरि हुने कूल ४८ खेलहरुमध्ये सबैभन्दा पहिले राउन्ड रोबिनका खेलहरु हुनेछन् । यस चरणमा सबै टोलीले सबैसँग १÷१ खेल खेल्नेछन् । खेलेका सबै खेलबाट सबैभन्दा धेरै अंक ल्याउने ४ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनलबाट फाइनल पुग्ने २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।।
प्रतिक्रिया