पाथीभरा घटनामा प्रहरीको गोली लागि घाइते भएकाहरुको उपचार सरकारले गर्ने

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । मंगलबार सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च ब्यहोर्ने लगायतका निर्णय गरेको हो ।

त्यस्तै, घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि भएको बताइएको छ । घटनाबारे भोलि (बुधबार) संस्कृति, पर्यटन तथा उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गर्ने बताइएको छ ।

पाथीभरामा केबुलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् । ‘नो केबुलकार समूह’ को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।

शनिबार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया